झापा । अर्जुनधारा जलेश्वरधाम तथा विश्व हिन्दू परिषद् नेपालको संयुक्त आयोजनामा अर्जुनधारा धाम, झापामा सामूहिक विवाह समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोह अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको २५औं वैवाहिक वर्षगाँठको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा १४ जिल्लाका १९ नवदम्पतीहरूले आ–आफ्नो परम्परा र धार्मिक विधिअनुसार विवाह सम्पन्न गरे।
विवाहमा सहभागी जोडीहरूलाई आवश्यक कपडा, बेहुलीलाई सुनको तिलहरी, गाग्रा, भाँडाकुँडा, र शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्। साथै, प्रत्येक जोडीको तर्फबाट १०/१० जना जन्ती तथा गाउँलेहरूलाई समेत उपस्थिति गराउने व्यवस्था गरिएको थियो।
विश्व हिन्दू परिषद् नेपालले विगत ६ वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ। गत वर्ष परिषद्ले १२औं स्थापना दिवसको अवसरमा काठमाडौंको हंसमण्डप, पशुपतिनाथ मन्दिर परिसरमा २१ जोडीको सहभागितामा प्रथम पटक सामूहिक विवाह आयोजना गरेको थियो।
समारोहमा धाम समितिका पदाधिकारी, विभिन्न संघसंस्था, व्यवसायिक तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकहरूका अनुसार यो कार्यक्रम केवल आर्थिक सहायतामा सीमित नभई सांस्कृतिक संरक्षण र सामाजिक एकताको प्रतीकको रूपमा स्थापित भएको छ।