रंगेली । मोरङको रंगेलीस्थित ईलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवाग्राहीलानई सेवा दिन सुरु गरेको छ । रंगेली नगरपालिकाका नगर दिलिप बगडीयासहित जनप्रतिनिधिहरुको पहलकदमीले आफ्नै भवनमा सरेपछि औपचारिरुपमा बुधबारदेखि ईलाका प्रशासन कार्यालय रंगेलीले सेवा दिन सुरु गरेको हो । ईलाका प्रशासन कार्यालय रंगेली स्थापनाकाल वि.सं. २०४७ सालदेखिनै भाडामा सञ्चालन हुँदै आएको थियो ।
आफ्नै भौतिक संरचना नहुँदा ईलाका प्रशासन कार्यालय विभिन्न ठाउँमा सर्दै पछिल्लो समय रंगेली–७ स्थित अजय मण्डलको निजी घर भाडामा लिएर सञ्चालनमा थियो । आफ्नै भवन नहुँदा कार्यालयको सेवा प्रवाहमा कठिनाई मात्र भएको थिएन, विचौलियाको चलखेल समेत बढ्दो थियो । तर, रंगेली नगरपालिकाले मर्मतसम्हार र स्तरोन्नती गरि आदर्श माविको पुरानो भवन उपलब्ध गराएपछि प्रशासन कार्यालयको आफ्नै भवनबाट सेवा सुरु भएको हो ।
आदर्श मावि पूर्णरुपमा नयाँ भवनमा सरेपछि शुक्रबारेस्थित पुरानो भवन खाली भएको थियो । भवन खाली रहँदा जिर्ण र उपयोगविहिन बन्ने भएपछि रंगेली नगरपालिकाले यसलाई सदुपयोग गर्न ईलाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
बुधबार एक कार्यक्रमकाबिच मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको उपस्थितीमा रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाले ईलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रबिना ढकाललाई सो भवन हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणसँगै नगर प्रमुख बगडीया र प्रमुख जिल्ला अधिकारी भट्टराईले रिवन काटेर कार्यालयको सेवा औपचारिकरुपमा उद्घाटन गर्नुभयो । उद्घाट गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले सम्पूर्ण रंगेलीवासीलाई बधाई दिनुभयो । उहाँले रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाको निकै सकृयताले मात्र राहदानीसहितको सेवा उपलब्ध हुनेगरी ईलाका प्रशासन कार्यालयको आफ्नै भवनबाट सेवा सुरु हुन सकेको बताउनुभयो ।
उहाँले सो कार्यालयबाट राहदानीका लागि प्रकृया अन्तिम चरणमा रहेकाले केही दिनभित्रै सुरु हुने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा रंगेली नगरपालिकाका नगरप्रमुख बगडीयाले आफुहरु जनताकै सेवाका लागि निर्वाचित भएकाले सोही अनुरुप सवै जनप्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेको बताउनुभयो । उहाँले सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई वस्नका लागि रंगेली नगरपालिकाले फलैँचा निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । नगर प्रमुख बगडीयाले कार्यालयलाई रंगेली नगरपालिकाबाट हुन सक्ने आवश्यक सहयोगसमेत गर्ने बताउनुभयो ।
सो अवसरमा रंगेली नगरपालिकाकी नगर उपप्रमुख भुमा पराजुलीले भाडाको भवनबाट ईलाका प्रशासन कार्यालयलाई सेवा दिन असहज हुँदै आएको बताउँदै अब आफ्नै भवनबाट प्रभावकारी सेवा उपलब्ध हुने बताउनुभयो ।
ईलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रबिना ढकालले विगतमा भाडाको घरमा निकै साँघुरो भएर निकै समस्या हुँदै आएपनि अब सवै समस्या समाधान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
रंगेली ७ का वडाध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नगर सभापति जगरनाथ मण्डल, नेकपा (एमाले) रंगेलीका अध्यक्ष दलबाहादुर बस्नेत, माओवादी केन्द्रका अध्यक्ष श्री अधिकारी, जसपा नेपालका अध्यक्ष पन्नाल मण्डल, लोसपाका भूमीसुधार सरदार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, समाजसेवीलगायत नगरवासीहरुको बाक्लो उपस्थिती रहेको थियो । आफ्नै भवनबाट ईलाका प्रशासन कार्यालय रंगेलीमा राहदानीसहितको सेवा सुरु भएपछि स्थानीय निकै हर्षित भएका छन् । राजनीतिक दलका प्रतिनिधिहरुले पनि ईलाका प्रशासन कार्यालय आफ्नै भवनमा सर्नु निकै खुशीको कुरा भएको र रंगेली नगरपालिकाले निकै राम्रो काम गरेको बताएका छन् ।
ईलका प्रशासन कार्यालय रंगेलीबाट रंगेलीसहित, सुनवर्षी, रतुवामाई नगरपालिका धनपालथान गाउँपालिकाको वडा नम्बर २,३,४ अर्थात साविकको अमाही वरियाती, सोराभाग र कानेपोखरी गाउँपालिका वडा नम्बर १ अर्थात साविकको होक्लाबारी गाविसका सेवाग्राहीले सेवा लिँदै आएका छन् । सो कार्यालयमा सेवाग्राहीको निकै चाप हुने गरेको छ । आफ्नै भवनबाट सेवा प्रवाह हुँदा अब सहज पार्किङ सुविधासहित छिटो, छरिता र थप प्रभावकारी हुनेछ । विचौलियाले गर्दै आएको चलखेल समेत ठप्प भएको छ । ईलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा दिन रंगेली नगरपालिका र जनप्रतिनिधिहरुले खेलेको भूमिका इतिहाँस बनेर अमर रहने निश्चीत छ । त्यसैले आफ्नै भवनबाट सेवा प्रवाह हुनेगरी भूमिका खेल्ने नगर प्रमुख बगडीयासहित सवै धन्यवादको पात्र बनेका छन् ।