विराटनागर । मोरङको रंगेली नरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । आइतबार नगरपालिका अगाडी नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेको अगुवाईमा नगरसमितिले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै २०७९ सालको निर्वाचनमा मेयरको प्रत्याशीसमेत रहेका घिमिरेले नगरपालिकाले जनताको ढाड सेक्ने गरी कर लगाएको आरोप लगाए । उनले जनताको ढाड सेक्नगरी कर लगाएको आरोप लगाउँदै कर वृद्धि फिता नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरे ।
आन्दोलनमा रंगेलीका सवै वडाबाट नेपाली कांग्रेसका करिब सय जना भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो । नेपाली कांग्रेसले रंगेलीमा अत्याधिक कर लगाएको आरोप लगाएपनि मोरङका सवै स्थानीयतहभन्दा कम रहेको बताइएको छ ।
तर, अन्य पालिकाले चलनचल्ती मूल्य अनुसार घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर र बाँकी जग्गामा भुमिकर/मालपोत कर लगाइने गरेपनि रंगेली नगरपालिकाले नगरवासी मारमा पर्ने महसुस गरी घर भए घर कर र जग्गामा भुमिकर/मालपोत कर लगाएको जनाएको छ ।
अन्य पालिकाले जस्तै रंगेलीले चलनचल्ती मूल्य अनुसार घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर र बाँकी जग्गामा भुमिकर/मालपोत कर लगाउने हो भने हालको भन्दा तीन गुणासम्म कर बढी पर्न जान्छ । त्यसैले रंगेलीले जनतालाई मार्का नपर्नेगरी कर लगाएको जनाएको छ ।
तर, रंगेलीमा कांग्रेसहित विभिन्न दलहरुले आन्दोलनको घोषणा गरेका छन् । मोआवादी केन्द्र, जसपा, राप्रपा र जनमतले आन्दोलन स्थगित गरिसकेका छन् ।