आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।
हामि– किन ?
आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु ।
हामी खुसिले –हुन्छ आमा (खुशिले जिउ जिरिङ फुल्छ, चिउरा खान पाईने भयो, मोहीसँग तातो भात हतार हतारमा खाएर स्कुल । दिनभरी स्कुलमा के के भयो थाहाछैन । जम्मा ध्यान कतिखेर छुट्टि हुन्छ । टन्टलापुर घाम, हतारमा घर आईपुगियो, आमा डोको भरिको मकैको भारि घोप्ट्याउदै, ए आएछौ मकै पोलिदिएको छु खाओ र गाईवाख्रा, भैँस, गोरु अल्झिए होलान् ,वेलुकीका लागि दश मुठा घास पनि चाहिन्छ, बुबा विहान गोरु खोलेपछि दिनभरि मकै भाँचेर गल्नु भएको होला दुई चार डोका वोक्न साथ दिए छिटो सकिन्थ्यो होला । (हतारमा किताव र लुगा पिडिको वेन्चिमा राखेर आदेशको पालना सुरुवात, पोलेको मकै, मल खाडि छेउको भिन्डि पटक्क भाचेर झुस आलिको दुवेले पुछेर खाँद, मकैबारीको कलिलो काँक्रो, बोढि, घुर्मि, कुटुकि खादै, हतारमा गरिएको काम, आहा त्यो वेलाको हाम्रो जँगर !)
असारको लामो दिन हतारमा सवै काम सहित गाई वस्तु थन्क्याईसक्दा झमक्क साँझ पथ्र्यो । लाल्टिन र कुपि वालेर घर उज्यालो वनाउदै आमा भान्साको तयारिमा, वाल्टि लिएर वुवा गाई भैंसि दुहुंदै, खोलेको भाँडो सफा गरि वाहिरि चुलोमा चिउराको पानि तताउदै, उम्लिएको पानि टिनको वट्टामा धान भिजाउदै असारे चर्को घाम, मकै बारिको उखुम् गर्मी, पसिनाले पटक–पटक भिजेको कपडा निचोर्दै लाउदै ,दिन भरिको संघर्ष वाट वेलुकिको ति कामहरु मानस पटलमा सपनामा झैँ असार १५ ले संझाई रहन्छ ।
वुवा दुधको वाल्टि दिदै, दुध वाहिर तताउने कि भित्रै? आमाको हतारमा अलि ठुलो आवाज आउछ, हे केटाकेटीहो अव दुई तिन दिन दुध खान मिल्दैन, सवै दुध भित्र ल्याओ अषार १५ लाई दहिको जो गर्नु पर्छ, छर छिमेकिले पनि आस गरेका छन । कार्की ठुल्दाई मुस्कुराउदै–मारिन कान्छि वजैले, अव दुर चारदिन यो गर्मीमा मोही खान नपाईने भयो ।
साँझको सवै काम फत्ते । उखुम गर्मीमा सवैको पसिनाले भिजेको शरिर पालैपालो कलको चिसो पानिमा नुहाउदाको आनन्द ! आहा …(आज एसि र पङ्खा लगाउँदै वसेका ठुल्दाई, हौ केटा सारै गर्मी छ हौ आज वाहिरै निस्किएन भनेको सुन्दा ति अतितले गिज्याय जस्तो लाग्छ ।
आमाको आवाज खाना तयार भयो सवैजना एकैपटक आउने–तातो भात, फर्सीको मुन्टा र बटुका भरि झोल मासु, सातै जनालाई एकै पटक । मासुपो रहेछ त ? आमा–ठुल्दाईले ल्याएको लुते खसि रहेछ क्यार वोसो कम परेछ ।(फलामको कराई १ पन मासु ,सातजनाको परिवार सातै वटुका भरि भरि )(त्यति मिठो मासु भात फेरि आज भोलि फेलै पर्दैन )
खाना पछि –वहिनि धन्दामा । हामी पिढीमा मकै सर्याउने काममा ।
आमा–छिटो छिटो गर है, नानि हो भोलिलाई ठाँउ खालि गर्नु छ । भोलि ठुलो गराको मकै भाँच्नु छ । (१० वजेछ झुत्ता वनाए जति घारमा राख्ने नङ्ग्याएको जति सिलिङमा राखि सकेर सुत्ने तयारि)
दिन भरिको प्रचण्ड गर्मी । थाकेको सरिर, सात फुटे बरण्डा, टिनको छानु, खाटको झुरियको तातो ओछ्यान, मधुरो वत्ति निभाउदै निदाउने कोसिस ।
आमा–५ वजिस्यो, उठ है, वस्तु वाहिर निकाल र चिउराको पानि तारेर ढिकी सफा गर, वेलुकी छिटै देखि चिउरा कुट्न पर्छ।
हामी–हतारमा चिउरा खान पाउने खुशिले सवै काम फत्ते ।
वेलुकि थापा दाई आउछन, ५ वजे नै खाना खाई सकिन्छ, चिउरा भुट्न सुरु हुन्छ ,छिमेकि काकी वडीहरुसहित, अन्य तयारी पुराहुन्छ । रातिको ११ वज्यो सुनसान गाँउ, परपरका घरमा मधुरा वत्तिहरु, गाँउभरी ढिकिका ढक ढक आवाजहरु, बाहिरी वातावरण बाक्ला जुनकिरिहरुको झिलिमिलि, वेलावेला भ्यागुताको ट्ववार ट्ववार र कुकुर हरुको वेला वेलाको आवज, धमिलो आकाशमा कतै कतै देखिने चम्किलो तारा हरुको वातावरण मानसपटलमा सपना जस्तै छाहिरहेका छन् ।
आज असार १५ आफै विउँझिएछ, गाई वस्तुको मेलो सकेर, चुना लगाएर ड्याम्निमा पराल र सिमलिले छोपेर पकाउन हालेको, पर्रा, कुरकुचे, चिनि चम्पा, केराका घरिहरु र आप, कटहर वाहिर निकाल्दै पिंडिमा राख्ने काम सकियो ।
बुवाबाट आँपको पात थालभरी फिंजाएर हरेक पातमा थोरै थोरै चिउरा, दही केरा, कटहर, फुल र अगरवत्तिसहित पुजा गरि विभिन्न ठाँउमा चडाउने काम सम्पन्न । छिमेकि हरुमा ठुलो ठेकिको दहि, केरा कटहर पुर्याउने काम सकियो ।
आमा हात धोएर सवैजना आउने–परिवारका सबै सदस्यहरु भान्साको काठ, घोसेल्टा, पटेर, सिरुको पिरामा वरिपरि बसेर मानेको असार १५, अबफेरि कहिले आउछ होला ।
असार १५, २०८० को धेरै–धेरै शुभकामना
ऋषिकेश पोखरेल
प्रतिनिधिसभा सदस्य
अध्यक्ष, नेकपा (एमाले) मोरङ