विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
शपथलगत्तै मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले कांग्रेसका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन, हिमाल कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालय र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यस्तै, जसपाका जयराम यादव सामाजिक विकास मन्त्रालय र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । नवनियुक्त मन्त्रीहरुले पनि शपथ लिएका छन् ।